कुनै निश्चित उद्देश्य हासिल गर्नका लागि विभिन्न विकल्पहरु मध्ये उपयुक्त विकल्पको छनौट गर्ने कार्य तथा प्रक्रिया नै निर्णय प्रक्रिया हो ।
• निर्णय लिने कार्य एक महत्वपूर्ण व्यवस्थापकीय तथा प्रशासनिक कार्य हो । सामान्य अर्थमा निर्णय प्रक्रिया भन्नाले व्यवस्थापनले आफ्नो उद्देश्य हासिल गर्ने सन्दर्भमा गरिने विविध कार्यहरु, योजना, नीति, कार्यक्रम आदि तर्जुमा, सो को कार्यान्वयन, अनुगमन, नियन्त्रण एबम् मूल्यांकन संबन्धमा कुनै समस्याहरु समाधान गर्नका लागि गरिने निर्णय, उक्त निर्णय गर्दा अपनाउनु पर्ने प्रक्रिया वा कार्यविधिलाई बुझिन्छ ।
• निर्णय लिने प्रक्रियालाई छनौट प्रक्रियाको पर्यायको रुपमा हेरिन्छ । छनौटको विकल्पसँग सोझो सम्बन्ध रहन्छ । व्यवस्थापन क्षेत्रका कार्यहरु सामान्यतया विकल्प रहित हुँदैनन् । आवश्यकताहरु असिमित छन । ती आवश्यकताहरु पुरा गर्ने साधनहरु सीमित छन् । ती सीमित साधनबाट असीमित आवश्यकता पुरा गर्नका लागि उक्त साधनहरुको विवेकशील तथा वैकल्पिक उपयोग गरिनु आवश्यक हुन्छ । त्यस्तै कुनैपनि समस्या समाधान गर्ने विभिन्न वैकल्पिक उपायहरु हुन्छन् । साधन, स्रोत , समय, परिस्थिति, अनुकुल उपयुक्त एबम् औचित्य पूर्ण ढंगले छनौट गरिएको विकल्प तथा लिइएको निर्णय नै प्रभावकारी निर्णय हुन्छ ।
# निर्णय_किन_गरिन्छ ?
• समस्याको उचित समाधान गर्न,
• आवश्यकता पुरा गर्न,
• परिवर्तनकारी कार्यहरु गर्न,
• घोषित कार्यक्रम सञ्चालन गर्न,
• वर्तमान कार्य प्रक्रियामा सुधार ल्याउन,
• निर्दिष्ट जिम्मेवारी तथा उत्तरदायित्व पूरा गर्न,
• न्याय निस्पादन गर्न ।
# निर्णय_प्रक्रियाका_चरणहरु :-
• समस्याको पहिचान: यो निर्णय प्रक्रियाको प्रथम चरण हो । वास्तविक समस्या के हो भनेर निर्क्यौल गर्नु नै निर्णयकर्ता ले निर्णय गर्ने आधा बाटो तय गर्नु हो भनेर भनिन्छ । समस्या पहिचान गर्दा त्यसको प्रकृति, गाम्भिर्यता, स्रोत आदिको सम्बन्धमा स्पष्ट निर्क्यौल गरिनु पर्दछ ।
• समस्याको विश्लेषण: वास्तविक समस्याको पहिचान भैसकेपछि उक्त समस्यालाई विश्लेषण गरिनुपर्दछ । समस्याका कारण के हो? समस्या आफ्नो पहुँच भित्र या बाहिरको हो? या आन्तरिक या वाह्य वातावरणबाट सिर्जित समस्या हो?त्यसबाट के के परिणामहरू आउन सक्छन्? के कसरी , कहिले, उक्त समस्या समाधान गर्न सकिन्छ भन्ने सम्बन्धमा व्यापक विश्लेषण हुनु जरुरी हुन्छ ।
• सूचना संकलन: समस्याको पहिचान तथा विश्लेषण पछि सो समस्या समाधानका लागि त्यससँग सम्बन्धित तथा आवश्यक पर्ने सूचनाहरु संकलन गरिनु पर्छ । त्यसको लागि सूचना संकलन सम्बन्धी उपयुक्त विधि अबलम्बन गरी मितव्ययी एबम् प्रभावकारी रुपमा पर्याप्त सूचना, तथ्यांक तथा जानकारी प्राप्त गर्नु जरुरी हुन्छ ।
• विकल्पहरुको विकास तथा मूल्याङ्कन: कुनैपनि समस्या समाधानका लागि विभिन्न विकल्पहरु हुन सक्दछन् । त्यस्ता सम्भावित विकल्पहरुको खोजी गरिनु पर्छ । त्यसको लागि सम्बन्धित कर्मचारीहरु, विशेषज्ञहरु, संगठन भित्रको व्यवस्थापन सूचना प्रणाली, सम्बन्धितहरु सँगको छलफल, बैचारिक आदानप्रदान, राय सल्लाह तथा सेवा लिनु उपयुक्त हुन्छ । विभिन्न विकल्पहरुको विकास गरिसकेपछि आफ्नो व्यवस्थापनको लक्ष्य, नीति, उपलब्ध स्रोत, साधन, समय तथा परिस्थिति जस्ता महत्वपूर्ण विषयहरुलाई ध्यान दिई उक्त विकल्पहरुको विश्लेषण गर्नुका साथै उपयुक्त प्रविधि तथा सिद्धान्तको आधारमा ती विकल्पहरुको मूल्यांकन गर्नुपर्छ ।
• सर्वोत्तम विकल्पको छनौट: प्रत्येक विकल्पको विश्लेषण तथा मूल्याङ्कन पश्चात जुन निष्कर्ष निस्किन्छ त्यसको आधारमा उपयुक्त ठहरिएको विकल्प छनौट गर्नु निर्णय प्रक्रियाको अर्को महत्वपूर्ण चरण हो । उपयुक्त विकल्प छनौट गर्दा आर्थिक, सामाजिक, प्राविधिक, व्यवस्थापकीय तथा वातावरणीय दृष्टिले उपयुक्त एबम् प्रभावकारी ठहरिएको विकल्प छनौट गरिनुपर्छ । यस चरणमा जुन विकल्प छनौट गरिएको हुन्छ, त्यो नै वास्तविक निर्णय हुन जान्छ ।
• निर्णय कार्यान्वयन: समस्या पहिचान गरी त्यसको समाधानका विभिन्न विकल्पहरु विकास र विश्लेषण गरी सर्वोत्तम विकल्प छनौट गरेर मात्र निर्णय कार्य समाप्त हुँदैन । निर्णयलाई कार्यमा परिणत गरेपछि मात्र वास्तवमा निर्णय गर्ने प्रक्रियाले महत्व पाएको मानिन्छ ।
• निर्णयको मूल्यांकन: निर्णय प्रक्रियाको अन्तिम चरण यसको मूल्यांकन हो । निर्णयको प्रभावकारिताको लागि निर्णय मूल्यांकनको उचित व्यवस्था निर्णय प्रक्रियाको अपरिहार्य तत्व मानिन्छ ।
# सार्वजनिक_प्रशासनमा_निर्णय_प्रक्रिया_सम्बन्धी_समस्याहरु :-
• नीति विश्लेषणको अभाव
• अनावश्यक दावाव
• प्रकृयागत विलम्वता र ढिलासुस्ती
• टिप्पणी संस्कृति
• तदर्थ निर्णय
• कानून पालनाको कमजोर अवस्था
• जिम्मेवारी तथा निर्णय पन्छाउने प्रवृत्ति
• हचुवामा निर्णय गर्ने तथा अन्तिम घडीमा निर्णय गर्ने प्रवृत्ति
• व्यक्तिवादी प्रवृत्ति
• सकभर आफू उम्किने प्रवृत्ति ।
माथि उल्लेखित विभिन्न कारणको फलस्वरूप प्रशासनमा निर्णय लिने कार्य निकै जटिल बन्दै गैरहेको छ । मुलुकमा संघीय शासनको वास्तविक प्रयोग भैरहेको अवस्थामा पनि प्रशासन सञ्चालनको व्यवहारिक पक्ष केन्द्रीय तरिकाले सञ्चालन हुँदै आएकोले नीति निर्णयमा समेत थुप्रै व्यवधान आइपरेका छन । यसको शुद्धीकरणका लागि सम्वद्ध सबै पक्षबाट आवश्यक पहल गरिनु जरुरी छ ।
# प्रभावकारी_निर्णयका_लागि_अवलम्बन_गर्नुपर्ने_पद्धतिहरु :-
• सरोकार पक्षलाई सहभागी गराउने
• प्रभावकारी रुपमा सञ्चार प्रवाह गर्ने
• नियमित बैठक बोलाउने
• विज्ञको सेवा लिने
• उपयुक्त सिद्धान्तको अबलम्बन गर्ने
• परामर्श लिने
• विवेक तथा औचित्यको न्यायोचित प्रयोग गर्ने
• आग्रह तथा पूर्वाग्रह नराख्ने
• आवश्यक विषयवस्तुको ज्ञान लिने तथा पर्याप्त सूचनाको उपयोग गर्ने
• औपचारिकता कायम गर्ने
• पृष्ठपोषण लिने र उपयोग गर्ने
-------------------------धन्यवाद--------------------------------
प्रस्तुति: कुन्दन भट्टराई

Comments

Popular posts from this blog

अनुगमन र मूल्याङ्कनको अर्थ, भिन्नता र उद्धेश्य

अभिलेख ब्यबस्थापन

भ्रष्टाचार निवारण ऐन 2059