पाठकको जिज्ञासा

बिरुजी महाराजको जिज्ञासा 
प्रदेश र स्थानीय तहको राजस्व क्षेत्रबारे चर्चा गर्नुहोस् ?
प्रदेश र स्थानीय तहको राजस्वको क्षेत्र लेख्दा संविधानको धारा ५९ र ६० तथा अनुसूचीमा रहेका प्रदेश एवं स्थानीय तहका अधिकारका सूचीहरूका आधारमा लेख्नुपर्छ । धारा ५९ मा आर्थिक अधिकारको प्रयोगका सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकारको क्षेत्रका विषयमा कानुन बनाउन सक्ने तथा धारा ६० ले तिनीहरूका आर्थिक अधिकारका क्षेत्रभित्रका विषयमा कर लगाउन एवं राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ । संविधानको अनुसूची ६ को खण्ड (४) मा प्रदेशको र अनुसूची ८ को खण्ड (४) मा स्थानीय तहको राजस्वका क्षेत्रहरू तोकिएको छ । अनुसूची ९ को खण्ड (६) मा संघ, प्रदेश र स्थानीय तहको राजस्वका साझा क्षेत्रसमेत तोकिएको छ ।
 
संगीता महत्राको जिज्ञासा 
स्थानीय तहको अनुदान भनेको के हो ? यसमा कस्ता–कस्ता अनुदान पर्छन् ?
स्थानीय तहको अनुदान भनेको संघले वा प्रदेशले स्थानीय तहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेको मापदण्ड र सूत्रका आधारमा हस्तान्तरण गर्ने अनुदानलाई बुझिन्छ । यस्ता अनुदानहरूमा समानीकरण अनुदान, ससर्त, विशेष र समपूरक अनुदान पर्छन् । 

समृद्धि धिमालको जिज्ञासा 
मौद्रिक नीति भनेको के हो ? यसले देशको अर्थतन्त्र कसरी सन्तुलित राख्न मद्दत गर्छ ?
मौद्रिक नीति भनेको बजारमा मुद्रा प्रवाहलाई सन्तुलित र नियन्त्रित तुल्याई वित्तीय स्थायित्व, आर्थिक वृद्धि तथा सामाजिक न्याय काम गर्न सरकारको मौद्रिक अधिकारी वा केन्द्रीय बैंकले जारी गर्ने नीति हो । यसले मूलतः बजारमा साख नियन्त्रण मुद्राको माग र आपूर्तिबीच सन्तुलन कायम गरी मुद्रास्फीति, ब्याजदर र विनिमयदरलाई स्थिर तुल्याएर अर्थतन्त्रलाई सन्तुलित तथा अनुशासित राख्न मद्दत गर्छ ।
 
नित्य खनालको जिज्ञासा 
वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोगबीच के फरक छ ?
वैदेशिक सहायता भनेको विकासशील मुलुकको आर्थिक, सामाजिक विकासका लागि सामान्यतया विकसित मुलुकहरूले द्विपक्षीय वा बहुपक्षीय दातृ कायमार्फत अनुदान, ऋण वा प्राविधिक सहायताका रूपमा उपलब्ध गराउने वित्तीय, वस्तु तथा सामग्री एवं प्रविधिको समष्टि हो । 

अन्तर्राष्ट्रिय सहयोग भनेको दुई वा दुईभन्दा बढी मुलुकहरू साझा उद्देश्य प्राप्तिका लागि सँगसँगै मिलेर काम गर्ने प्रणाली हो । यसभित्र मुलुकहरूबीचको आर्थिक, राजनीतिक, वातावरणीय, सांस्कृतिक, भौगोलिक, रणनीतिक, व्यापारिकलगायतका कारणले हुने सबैखाले सहकार्य र साझेदारीका स्वरूपहरू पर्छन् । त्यसैले अन्तर्राष्ट्रिय सहयोग बृहत् हो भने वैदेशिक सहायता त्यसैको एउटा पक्ष हो । 

वैदेशिक सहायतालाई अन्तर्राष्ट्रिय सहयोग भन्न सकिन्छ तर अन्तर्राष्ट्रिय सहयोग वैदेशिक सहायता मात्र चाहिँ होइन ।
 
स्थानीय सेवा भनेको निजामती सेवा हो वा होइन ?
नेपालको संविधानले गरेको व्यवस्थाका आधारमा स्थानीय सेवा भनेको निजामती सेवा होइन । यो गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आ–आफ्नो प्रशासन सञ्चालन गर्न कानुनबमोजिम गठन गर्ने एक सरकारी सेवा हो ।

राम केसीको जिज्ञासा 
गरिबी भनेको के हो ? यो कति प्रकारको हुन्छ । नेपालमा गरिबी घट्न नसक्नुका कारणहरू के–के हुन् । के गर्दा नेपालमा गरिबी निवारण हुुन सक्छ ।
गरिबी भनेको व्यक्तिको न्यूनतम जीवन निर्वाह गर्न आवश्यक पर्ने आम्दानीको अभावमा पछाडि परेको अवस्था हो । नेपालमा गरिबीलाई आम्दानीका आधारमा प्रतिदिन प्रतिव्यक्ति न्यूनतम १ दशमलव २५ अमेरिकी डलरभन्दा कम आय भएको अवस्था वा उपभोगका आधारमा प्रतिदिन प्रतिव्यक्ति २२२० क्यालोरी उपभोग गर्न सक्ने गरी आर्य आर्जन नभएको अवस्थाका रूपमा परिभाषित गर्ने गरिएको छ ।

गरिबी आय गरिबी, सामाजिक वञ्चितीकरण तथा बहिष्करणका कारण हुने गरिबी र मानवीय गरिबी गरी तीन प्रकारको हुन्छ । नेपालमा गरिबी घट्न नसक्नुका प्रमुख कारण गरिबको सही पहिचान नहुनु, गरिबीका कारणलाई नभई लक्षणलाई सम्बोधन गर्ने कार्यक्रम बन्नु, धेरै निकायमा छरिएर धेरै कार्यक्रमहरू सञ्चालन हुनु, कार्यक्रमहरू गरिबीको दिगो समाधान गर्नेभन्दा पनि अल्पकालीन समाधान गर्ने किसिमका हुनु, गरिबमुखी बजेट प्रणालीको अभाव हुनु, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम न्यून हुनु, कृषिको आधुनिकीकरण र बजारीकरण गर्न नसकिनु, उद्योगधन्दाको विस्तार र उत्पादन तथा उत्पादकत्व वृद्धिका प्रभावकारी कार्यक्रम नहुनु, सामाजिक सुरक्षाको दायरामा ठूलो संख्याको जनसंख्यालाई समेट्न नसकिनुजस्ता कारणहरू जिम्मेवार छन् । गरिबी कसरी घटाउन सकिन्छ भन्ने प्रश्नको उत्तरमा भने यिनै कारणलाई सम्बोधन गर्ने गरी सुझाब दिनुपर्छ ।

Comments

Popular posts from this blog

अनुगमन र मूल्याङ्कनको अर्थ, भिन्नता र उद्धेश्य

अभिलेख ब्यबस्थापन

भ्रष्टाचार निवारण ऐन 2059